मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ र महावीर पुनले लिए शपथ

User Image Prime TV News १३ घण्टा अगाडि
Image of मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारसँगै सुधन गुरुङ र महावीर पुनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

रामचन्द्र पौडेल समक्ष आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको थियो। गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा थिए।

सम्पत्ति विवरणसँग सम्बन्धित विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनीमाथि लागेको आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

त्यस्तै, महावीर पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए। फागुन २१ मा भएको निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए।

गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसद हुन् भने पुन म्याग्दी बाट निर्वाचित स्वतन्त्र सांसद हुन्। दुवै मन्त्रीको नियुक्तिसँगै सरकारले गृह प्रशासन र विज्ञान–प्रविधि क्षेत्रका कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।