देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी कायम
Prime TV News एक घण्टा अगाडि काठमाडौ । देशभरको मौसममा आज आंशिकदेखि सामान्य बदली रहने तथा विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश सहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको तराईका एक दुई स्थानमा समेत मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ।
गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। आज राति भने देशभर सामान्य बदली रहनेछ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णालीसहित सबै प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसमविद्हरूले वर्षा, चट्याङ तथा सम्भावित पहिरोको जोखिम रहेका क्षेत्रमा सतर्क रहन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।







