सात बुँदे सहमतिको चर्चा निराधार रहेको शेखर कोइराला पक्षको दाबी
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले पार्टी संस्थापन पक्षबाट सहमतिका लागि सात बुँदे प्रस्ताव आएको भन्ने चर्चा निराधार रहेको जनाएको छ।
सचिवालयले एक वक्तव्य जारी गर्दै संस्थापन पक्षले सात बुँदे प्रस्ताव पठाएको भन्ने सूचना सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा मात्रै आएको उल्लेख गरेको छ। सचिवालयका अनुसार यसबारे नेता कोइराला वा उनको सचिवालयलाई कुनै औपचारिक जानकारी प्राप्त भएको छैन।
सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले बाहिर फैलाइएका यस्ता सूचनाहरू मनगढन्ते, कपोलकल्पित र भ्रामक भएको दाबी गरेका छन्। उनले त्यस्ता समाचार र चर्चाको भ्रममा नपर्न आग्रह गरेका छन्।
सचिवालयका अनुसार कांग्रेसको विशेष महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिपछि महामन्त्री प्रदीप पौडेलले २०८२ चैत २२ गते र सभापति गगन थापाले २०८३ वैशाख २२ गते विशालनगरस्थित सचिवालयमा पुगेर नेता कोइरालासँग भेट गरेका थिए।
त्यसयता संस्थापन पक्षका कुनै नेता वा प्रतिनिधिसँग सहमति, संवाद वा वार्ताका लागि कुनै सम्पर्क नभएको सचिवालयले स्पष्ट पारेको छ। पछिल्ला दिनमा कांग्रेसभित्र आन्तरिक एकता र शक्ति सन्तुलनबारे विभिन्न चर्चा चलिरहेका बेला शेखर कोइराला पक्षको यो स्पष्टीकरण सार्वजनिक भएको हो।







