पूर्वी नेपालमा बाढी र पहिरोको जोखिम कायमै, यातायात अझै बन्द रहने

User Image Prime TV News १७ घण्टा अगाडि
Image of पूर्वी नेपालमा बाढी र पहिरोको जोखिम कायमै, यातायात अझै बन्द रहने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशको पूर्वी भागमा अझै बाढी र पहिरोको उच्च जोखिम कायमै रहेको जनाएको छ। मनसुनको सक्रियता जारी रहेकाले सुरक्षित अवस्था नआईसकेको भन्दै प्राधिकरणले प्रभावित क्षेत्रमा यातायात नखोलिने स्पष्ट पारेको हो।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले पूर्वी नेपालमा विशेष गरी पहाडी तथा तराई क्षेत्रका सडकहरू कमजोर रहेकाले तत्काल यातायात सञ्चालन सम्भव नभएको जानकारी दिए। उनका अनुसार, “मधेस प्रदेश र वाग्मतीमा नभएर पूर्वतिर मनसुन सक्रिय भएको छ। त्यसैले हामीले पूर्वका सबै जिल्लामा सीडीओहरूमार्फत यातायात बन्द गर्ने निर्देशन दिएका छौँ।”

उनले थपे, “विपद्को जोखिम अझै घटेको छैन। माथिल्लो क्षेत्रहरूमा पहिरोको सम्भावना उच्च छ भने कोसीका खोल्साहरूमा जल सतह बढ्नसक्ने अवस्था देखिएको छ।”

प्राधिकरणले लामो समयदेखि विपद् व्यवस्थापनका लागि तयारी गर्दै आएको जनाउँदै, अहिले पनि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरहरू राहत र उद्दार कार्यका लागि तयारी अवस्थामा राखिएको जनाएको छ।

यसैबीच, पहिरो र बाढीबाट क्षति भएका सडक र विद्युत् आयोजनाहरूलाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

सरकारले जनतालाई सतर्क रहन र अनावश्यक यात्राबाट जोगिन अनुरोध गरेको छ। प्राधिकरणले जोखिम न्यूनीकरणमा सबैको सहयोग आवश्यक रहेको भन्दै सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।