रास्वपा अर्घाखाँचीमा अंकमाल विवाद : ‘सम्मानको व्यवहारलाई गलत रूपमा प्रस्तुत गरियो’
Prime TV News २ घण्टा अगाडि 
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची जिल्ला अधिवेशनमा सभापति पदमा विजयी भएकी सीता पराजुली र प्रतिस्पर्धी दिनेश सुनारले निर्वाचन परिणामपछि भएको अंकमाललाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक टिप्पणीहरूको संयुक्त रूपमा खण्डन गरेका छन्।
अधिवेशनको मतपरिणाम सार्वजनिक भएपछि पराजुलीले पराजित उम्मेदवार सुनारलाई अंकमाल गरेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि विभिन्न किसिमका टिप्पणी र व्याख्या हुन थालेका थिए।
यस विषयमा प्रतिक्रिया दिँदै पराजुलीले निर्वाचनमा प्रतिस्पर्धा भए पनि आफूहरूबीच दिदी–भाइको सम्बन्ध रहेको र परिणामपछि भावुक बनेका सुनारलाई सम्मान तथा हौसला दिन अंकमाल गरेको स्पष्ट पारेकी छन्। उनले नेतृत्व चयन लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गर्दै प्रतिस्पर्धीलाई सम्मान गर्ने संस्कार स्थापित गर्न खोजिएको बताएकी छन्।
पराजुलीले केही व्यक्तिहरूले भिडियो सम्पादन गरेर गलत सन्देश फैलाउने प्रयास गरेको आरोप लगाउँदै यस्ता गतिविधिविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउन सकिने चेतावनीसमेत दिएकी छन्। उता सुनारले पनि सामाजिक सञ्जालमार्फत स्पष्टीकरण जारी गर्दै निर्वाचन प्रतिस्पर्धा विचार, नीति र नेतृत्व चयनका लागि हुने प्रक्रिया भएको र त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्न नहुने बताएका छन्।
उनले दिदी–भाइबीचको सम्मानपूर्ण व्यवहारलाई गलत अर्थ लगाउनु, चरित्रहत्या गर्ने प्रयास गर्नु तथा सामाजिक सञ्जालमार्फत घृणा फैलाउनु निन्दनीय रहेको उल्लेख गरेका छन्। सुनारले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक भए पनि मानवीय सम्बन्ध, संस्कार र सम्मानमाथि प्रहार गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सभ्यता र मर्यादाको सीमा ननाघ्न आग्रह गरेका छन्।
रास्वपा अर्घाखाँचीको जिल्ला अधिवेशनपछि उत्पन्न भएको यो विवादले सामाजिक सञ्जालमा राजनीतिक गतिविधिको व्याख्या गर्ने शैली र त्यसका प्रभावबारे पुनः बहस सिर्जना गरेको छ। दुवै नेताले भने आफ्नो सम्बन्ध र व्यवहारलाई गलत रूपमा प्रस्तुत नगर्न आग्रह गरेका छन्।








