‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता क्रमशः उजागर हुँदैछ : शंकर पोखरेल

User Image Prime TV News ५ घण्टा अगाडि
Image of ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता क्रमशः उजागर हुँदैछ : शंकर पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता क्रमशः उजागर हुँदै गएको टिप्पणी गरेका छन्। उनले उक्त नाराको आडमा देश र राज्यविरुद्धका गतिविधिलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको आरोप लगाए।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले देशविरुद्धका घातलाई सामान्य विषयका रूपमा प्रस्तुत गर्ने, राज्यविरुद्धका विध्वंसात्मक गतिविधिलाई बहादुरी ठान्ने तथा स्वार्थमा आधारित सेटिङलाई विधि र प्रक्रिया जस्तो देखाउने प्रवृत्ति बढ्दै गएको बताएका छन्।

उनले अर्थविधेयकजस्ता संवेदनशील सरकारी दस्तावेजमा गैरकानुनी छेडखानी हुने, अवैध धनका स्रोतलाई प्रणालीको कमजोरीका रूपमा व्याख्या गर्ने तथा आफ्ना निकट व्यक्तिलाई विभिन्न उपायमार्फत उन्मुक्ति दिने प्रयास भइरहेको दाबी गरे। साथै अरूलाई जसरी पनि दोषी सावित गर्न खोज्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको उनको भनाइ छ।

पोखरेलले सुशासन र तीव्र विकासका लागि विगतका कमजोरी र विकृतिहरू सच्याउनु आवश्यक रहेको उल्लेख गरे। तर सुधारको नाममा नयाँ प्रकारका अनियमितता र गलत अभ्यासलाई वैधता दिन खोज्नु उचित नहुने उनको तर्क छ।

“सुशासन र तीव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु आवश्यक छ, तर त्यसलाई नै बिर्साउने कुकार्य नयाँका नाममा कदापि उचित मान्न सकिँदैन,” उनले उल्लेख गरेका छन्। उनको अभिव्यक्तिलाई पछिल्लो समय राजनीतिक वृत्तमा उठिरहेका सुशासन, पारदर्शिता र राज्य सञ्चालनसम्बन्धी बहससँग जोडेर हेरिएको छ। यद्यपि उनले आफ्नो टिप्पणीमा कुनै व्यक्ति वा दलको नाम स्पष्ट रूपमा उल्लेख गरेका छैनन्।