सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ।
आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विदेशमा रहेका तथा आवश्यक कागजात संकलन गर्न कठिनाइ भएकाहरूले समय थप गर्न माग गरेपछि म्याद बढाइएको हो। आयोगले यसअघि जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो।
प्रारम्भिक सूचनाअनुसार जेठ मसान्तसम्म विवरण बुझाइसक्नुपर्ने व्यवस्था गरिएको थियो। तर म्याद सकिन तीन दिन बाँकी रहँदा करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ। अपेक्षित संख्यामा विवरण नआएपछि अन्तिम पटकका लागि म्याद थप गरिएको आयोगले स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता गणेश केसीका अनुसार हाल विवरण बुझाउने कामलाई सहज बनाउन अतिरिक्त समय दिइएको हो। उनले अब प्राप्त विवरणहरूको जाँचबुझ प्रक्रिया पनि सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। आयोगले सम्पत्ति विवरण समयमै नबुझाउनेहरूको हकमा कानुनी प्रक्रिया अघि बढाइने संकेतसमेत दिएको छ।







