परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै, भारत भ्रमणपछि कूटनीतिक सन्तुलनमा चासो

User Image Prime TV News ५ घण्टा अगाडि
Image of परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै, भारत भ्रमणपछि कूटनीतिक सन्तुलनमा चासो

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनाल पाँच दिनका लागि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी ३१ जेठमा चीन प्रस्थान गर्ने तयारीमा छन्।

खनाल केही दिनअघि मात्र दक्षिणी छिमेकी भारतको तीनदिने भ्रमण सकेर फर्किएका हुन्। भारत भ्रमण सकेको एक सातामै चीन यात्रा हुन लागेको हो। यसअघि उनको पहिलो प्राथमिकतामा चीन भ्रमण रहेको भए पनि अन्तिम चरणमा भारत यात्रा अघि सारिएको बताइएको छ।

मन्त्रालय स्रोतका अनुसार चीन भ्रमणको ठोस एजेन्डा हालसम्म सार्वजनिक गरिएको छैन। भ्रमणअघि सरोकारवालासँग छलफल गरेर एजेन्डा तय गर्ने तयारी भइरहेको छ। उक्त छलफलपछि चीनसँग हुने औपचारिक वार्ताका विषयहरू अन्तिम रूप लिन सक्ने जनाइएको छ।

खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय सहकार्यबारे छलफल गरेका थिए। तर सीमा विवाद, ईपीजी प्रतिवेदन तथा अग्निपथजस्ता दीर्घकालीन संवेदनशील विषयमा औपचारिक छलफल नभएको बताइन्छ।

यसैबीच, राजनीतिक वृत्तमा नेपालले छिमेकी मुलुकहरूसँग पुराना विवादभन्दा पनि नयाँ ढाँचामा सम्बन्ध विस्तार गर्न खोजिरहेको टिप्पणी भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार र कूटनीतिक दृष्टिकोणलाई “सन्तुलित सम्बन्ध” को रूपमा व्याख्या गर्ने गरिएको छ।

सरकारले नेपाललाई भारत र चीनबीचको “गतिशील पुल” बनाउने नीति अघि सारेको बताइन्छ। सोहीअनुसार चीनसँग विकास सहायता र भारतसँग कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राखिएको दाबी गरिएको छ।