दसैंपछि सुनचाँदीको मूल्य उच्च विन्दुमा, सुन प्रतितोला २ लाख ३० हजार नाघ्यो


काठमाडौ । दसैं बिदापछि केही दिन बन्द रहेको सुनचाँदी बजार आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुनचाँदी दुबैको मूल्य ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ।
महासंघका अनुसार, आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० कायम गरिएको छ। यसअघि असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २०० मा सीमित थियो। बिदापछि मूल्य ७ हजार ४०० ले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। असोज १२ मा २ हजार ८१० रहेको चाँदी आइतबार २ हजार ९३० प्रति तोलामा कारोबार भएको छ, जसअनुसार १२० को वृद्धि देखिएको छ। विश्व बजारमा सुनचाँदीको मूल्यमा भइरहेको उतारचढाव, अमेरिकी डलरको भाउ, र स्थानीय माग–आपूर्तिको असन्तुलनका कारण मूल्यमा तीव्र वृद्धि देखिएको हो।