प्रधानमन्त्रीको लिखित जवाफ माग गर्दै विपक्षी दलहरू, परराष्ट्रमन्त्रीबाट जवाफ दिने प्रस्तावमा असहमति
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको भौतिक उपस्थिति नभए लिखित स्टेटमेन्ट दिनुपर्ने माग गरेका छन्।
बुधबार रवि लामिछाने सँग भएको छलफलमा विपक्षी दलहरूले उक्त माग राखेका हुन्। उनीहरूले नेपालले भारतको सीमा मिचेको भन्ने विषयमा सरकारले स्पष्ट धारणा दिनुपर्ने बताएका छन्। बैठकमा लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिने प्रस्ताव अघि सारेका थिए।
तर विपक्षी दलहरू उक्त प्रस्तावमा सहमत हुन नसकेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। एक नेताका अनुसार लामिछानेले परराष्ट्रमन्त्रीलाई सरकारको तर्फबाट जवाफ दिन दिनुपर्ने र प्रधानमन्त्रीले आवश्यक परे अर्को समयमा थप स्पष्ट पार्ने धारणा राखेका थिए। तर विपक्षी दलहरूले प्रधानमन्त्रीबाटै स्पष्ट जवाफ आउनुपर्ने अडान लिएका छन्।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी थिए। उनीहरूले सरकारको धारणा स्पष्ट नभएको भन्दै संसदमा औपचारिक र जिम्मेवार जवाफ आवश्यक रहेको बताएका छन्। विवादित अभिव्यक्ति र त्यसपछि उठेका राजनीतिक बहसका कारण संसदमा सहमति जुट्न नसक्दा आगामी बैठकको कार्यसूची अन्योलमा परेको छ।







