प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै हर्क साम्पाङ, परराष्ट्रमन्त्रीलाई दिने सहमतिमा असहमति
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री स्वयंले स्पष्ट पार्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिएका थिए। बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमति गरेका थिए।
तर उक्त सहमतिमा असहमति जनाउँदै साम्पाङले प्रधानमन्त्रीले नै आफ्नो धारणा स्पष्ट गर्नुपर्ने माग राखेका हुन्। साम्पाङले प्रधानमन्त्रीले दिएको भनिएको “नेपालले पनि भारतको जमिन मिचेको” अभिव्यक्तिबारे प्रश्न उठाउँदै यसको स्पष्टीकरण प्रधानमन्त्रीबाटै आउनुपर्ने बताए। उनले “गल्ती जसले गरेको हो, उसैले जवाफ दिनुपर्छ” भन्ने धारणा राखे।
उनले लिखित वा प्रत्यक्ष जुनसुकै माध्यमबाट भए पनि प्रधानमन्त्रीको स्पष्ट भनाइ आवश्यक रहेको भन्दै सरकारको जिम्मेवारीबाट उम्किन नहुने टिप्पणी गरेका छन्।







