सप्तकोसीमा वर्षको उच्चतम बहाव: कोसी ब्यारेजका सबै ढोका खोलियो
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै जाँदा आइतबार बिहान कोसी ब्यारेजमा ४ लाख ८६ हजार ७६० क्युसेक प्रतिघण्टा बहाव मापन गरिएको छ। यो बहाव सतर्कता तह पार गरिसकेको भन्दै प्रशासनले आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।
सप्तकोसीको बढ्दो बहावका कारण कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। साथै, दुवै नहरमा पानीको प्रवाह तत्काल बन्द गरिएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार, नदीको बहाव कोसी पुलकै माथिल्लो भागमा पानी उक्लिएको देखिएको छ। स्थिति गम्भीर बन्दै गएपछि ब्यारेज हुँदै सवारीसाधन र मानिसको आवतजावत पूर्णरूपमा रोकिएको छ।
पछिल्लो समय यो बहाव सन् १९६८ यता दोस्रो उच्च बहावका रूपमा मापन गरिएको हो। यसअघि सन् १९८७ मा कोसीमा ५ लाख २३ हजार ७७१ क्युसेक बहाव मापन गरिएको थियो, भने गत वर्ष असोजमा ५ लाख ५७ हजार क्युसेकको बहाव भएको थियो।







