आजदेखि विश्वकपको महाउत्सव, ४८ राष्ट्र उपाधि दौडमा

User Image Prime TV News ४ घण्टा अगाडि
Image of आजदेखि विश्वकपको महाउत्सव, ४८ राष्ट्र उपाधि दौडमा

काठमाडौ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा यसपटक ४८ राष्ट्र सहभागी छन्, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हो।

एक महिनाभन्दा बढी समयसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। आयोजक राष्ट्रहरूका विभिन्न रंगशालामा हुने खेलहरू हेर्न लाखौं दर्शक प्रत्यक्ष रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ भने विश्वभर अर्बौं फुटबल समर्थकको नजर विश्वकपतर्फ केन्द्रित भएको छ।

उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेका रंगशालामा हुने खेलसँगै विश्वकपको औपचारिक सुरुवात हुनेछ।

यसपटक साविक विजेता अर्जेन्टिनासहित ब्राजिल, फ्रान्स, जर्मनी, स्पेन र इङ्ग्ल्यान्डलाई उपाधिका बलिया दाबेदारका रूपमा हेरिएको छ। नयाँ ढाँचाअनुसार सहभागी टोलीको संख्या बढाइएकाले प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

फुटबलप्रेमीहरू आफ्नो मनपर्ने टोलीको जर्सी लगाएर विश्वकपको माहोलमा रमाइरहेका छन्। विश्वकप अवधिभर विश्वका विभिन्न देशमा सार्वजनिक स्थान, रेस्टुरेन्ट तथा खेल मैदानहरूमा सामूहिक रूपमा खेल हेर्ने कार्यक्रमसमेत आयोजना गरिएका छन्।

जुलाई १९ मा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलपछि विश्व फुटबलको यो महाकुम्भ सम्पन्न हुनेछ। उपाधिका लागि हुने कडा प्रतिस्पर्धाले आगामी केही सातासम्म विश्व खेलकुदको केन्द्रबिन्दु फुटबल बन्ने निश्चित देखिएको छ ।