प्रतिनिधिसभामा आज पनि बजेटमाथि छलफल, अर्थमन्त्रीले महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने कार्यसूची रहेको छ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफललाई निरन्तरता दिइनेछ। विभिन्न दलका सांसदहरूले बजेटका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने कार्यसूची छ। बजेटका प्राथमिकता, कार्यक्रम तथा स्रोत व्यवस्थापनका विषयमा मन्त्री वाग्लेले सरकारको धारणा प्रस्तुत गर्नेछन्।
बैठकमा अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि संसदमा पेश गर्ने तयारी रहेको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि संसदमा भइरहेको छलफललाई चासोका साथ हेरिएको छ। आजको बैठकमा बजेटसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू अघि बढ्ने भएकाले संसदको गतिविधि थप महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।







