साफ यू-२० महिला च्याम्पियनको अन्तिम तयारीमा नेपाल, उपाधि जित्ने लक्ष्य

User Image Prime TV News एक महिना अगाडि
Image of साफ यू-२० महिला च्याम्पियनको अन्तिम तयारीमा नेपाल, उपाधि जित्ने लक्ष्य

१६ असार, काठमाडौं । बंगलादेशमा जुलाई दोस्रो सातादेखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि नेपाली यू-२० राष्ट्रिय महिला टोली अहिले अन्तिम तयारीमा छ ।

जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र मात्र सहभागी छन् । त्यसमा साविक विजेता बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका छन् ।

नेपाली टोलीले यस पटक उमेर समूहमा देखिएको उपाधि खडेरी तोड्दै च्याम्पियन बन्ने लक्ष्य राखेको छ । याम प्रसाद गुरुङको प्रशिक्षकमा हाल नेपाली यू-२० महिला खेलाडीहरू त्यसैका लागि तयारी गरिरहेका छन् ।

यस पटक चार टोली मात्र सहभागी भएकोले डबल राउण्ड रोविनका आधारमा च्याम्पियनसिपका खेलहरू खेलाइनेछ । डबल राउण्ड रोविनमा हुने च्याम्पियनसिपमा हरेक टोलीले अर्को टोलीसँग दुई-दुई खेल खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम नै च्याम्पियन हुनेछ ।

यस प्रतियोगितालाई अगष्ट २ देखि १० सम्म भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोटको तयारीको रुपमा समेत हेरिएको छ । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल बलियो टोली उत्तर कोरियासहित समूह एमा छ । यस समूहमा आयोजक भुटान, मंगोलिया र साउदी अरेबिया पनि छन् ।

नेपाली महिला फुटबल उमेर समूहको साफको प्रतियोगितामा अहिलेसम्म यू-१५ मा एक पटक उपाधि जितेपनि यू-१९/२० समूहमा उपाधि जित्न सकेको छैन ।

यस पटक भने टिम र तयारी दुवै राम्रो भएकोले नेपालको लक्ष्य उपाधि नै रहेको मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले बताएका छन् । ‘यस पटक च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरिरहेका छौ । भारत सहभागी छैन । बंगलादेश नै मुख्य प्रतिद्वन्दी हो’ प्रशिक्षक गुरुङले भने ।