गृह मन्त्रालयको बजेट अपुग भएको गुनासो, २० अर्ब थप मागिएको गृहमन्त्री गुरुङको भनाइ
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट प्रभावकारी कार्यसम्पादनका लागि पर्याप्त नभएको बताएका छन्। उनले मन्त्रालयको क्षमता विस्तार, विपद् व्यवस्थापन र लागूऔषध नियन्त्रणजस्ता संवेदनशील क्षेत्रमा काम गर्न थप स्रोत आवश्यक रहेको स्पष्ट पारेका हुन्।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले बजेट सिलिङभन्दा करिब २० अर्ब रुपैयाँ थप ल्याउन प्रयास गरिएको भए पनि त्यो अझै अपुग रहेको बताए। उनले मन्त्रालयलाई चुनौतीपूर्ण जिम्मेवारी दिइए पनि आवश्यक साधनस्रोत सीमित रहेको उल्लेख गर्दै संसदमार्तफत बजेट वृद्धिका लागि पहल गर्न सांसदहरूलाई आग्रह गरे।
“मन्त्रालयसँग बजेटको अभाव छ। हामीलाई चुनौतीपूर्ण काममा पठाइएको छ तर साधनस्रोत भने अत्यन्तै न्यून छ,” उनले बैठकमा भने। विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै उनले सार्वजनिक खरिद ऐनका प्रक्रियागत जटिलताका कारण उद्धार सामग्री समयमै खरिद गर्न कठिनाइ हुने गरेको बताए।
भारी क्षमताका ड्रोन खरिदजस्ता प्रक्रियामा लामो समय लाग्दा मनसुन सकिन सक्ने अवस्था आउने भन्दै उनले ऐन संशोधन आवश्यक रहेको उल्लेख गरे। मन्त्री गुरुङले विपद् व्यवस्थापनमा अब पूर्वतयारी र रोकथाममुखी रणनीति अपनाइने जानकारी दिँदै आफू स्वयं अनुगमनमा निस्कने योजना रहेको पनि बताए।
लागूऔषध नियन्त्रणका विषयमा उनले हालसम्म अपनाइएका विधिहरू प्रभावकारी नभएको निष्कर्ष निकाल्दै नयाँ रणनीति आवश्यक रहेको बताए। सीमा क्षेत्रमा हुने अवैध ओसारपसार रोक्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वयमा संयुक्त अपरेसन सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
उनले विद्यालय तहका पाठ्यक्रममा लागूऔषधबारे जानकारी दिँदा उल्टै बालबालिकामा जिज्ञासा बढ्न सक्ने जोखिमतर्फ पनि सचेत गराउँदै विषयवस्तु वैज्ञानिक रूपमा पुनरावलोकन गर्नुपर्ने धारणा राखे। संसद् र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले राज्य सञ्चालनमा पक्ष–विपक्षभन्दा पनि साझा जिम्मेवारीका आधारमा अघि बढ्नुपर्ने बताए।







