पार्टीभित्र अपमान र निषेधको आरोप लगाउँदै पूर्वसांसद छिरिङ ल्हामु तामाङ नेकपाबाट अलग

User Image Prime TV News एक घण्टा अगाडि
Image of पार्टीभित्र अपमान र निषेधको आरोप लगाउँदै पूर्वसांसद छिरिङ ल्हामु तामाङ नेकपाबाट अलग

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्वसांसद छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन्। उनले पार्टीभित्र लामो समयदेखि अपमान, असहयोग र राजनीतिक निषेधको वातावरण रहेको आरोप लगाउँदै पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा तामाङले पार्टीभित्र केही व्यक्तिहरूबाट निरन्तर अन्याय र षड्यन्त्रको सामना गर्नुपरेको र त्यसले आफ्नो राजनीतिक यात्रालाई अवरुद्ध बनाएको दाबी गरेकी छन्।

उनका अनुसार आत्मसम्मान, स्वतन्त्र विचार र व्यक्तिगत अस्तित्वमाथि निरन्तर प्रहार भएपछि पार्टीभित्र बसिरहन नसक्ने अवस्था आएको हो। उनले आफू काम गर्ने व्यक्ति भएको उल्लेख गर्दै सम्मान र समान व्यवहारको अपेक्षा गरेकी छन्।

“म काम गर्ने मान्छे हुँ। मलाई सधैं अपमान र अमानवीय व्यवहार होइन, आत्मसम्मान र मेरो अस्तित्वको सम्मान चाहिन्छ,” उनले वक्तव्यमा उल्लेख गरेकी छन्। तामाङले आफ्नो कार्यकालभरि क्षमता र योगदानको उचित मूल्यांकन नभएको तथा निर्णय प्रक्रियामा पटक–पटक अवरोध सिर्जना गरिएको आरोपसमेत लगाएकी छन्। साथै, युवाको विचारलाई दबाउने र नयाँ पुस्ताको आवाजलाई निषेध गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ।

उनले आफ्नो राजनीतिक तथा व्यक्तिगत रूपमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न षड्यन्त्रहरू गरिएको दाबी गर्दै त्यसबाट मुक्त हुन पार्टी छोडेको बताएकी छन्। पार्टी परित्यागपछि आफूलाई अवसरवादीका रूपमा चित्रण गर्ने प्रयास हुन सक्ने भन्दै उनले आफ्नो राजनीतिक पृष्ठभूमि र संघर्षको निष्पक्ष मूल्यांकन गर्न आग्रह गरेकी छन्।

तामाङले समाज परिवर्तन र देश विकासको उद्देश्यका साथ राजनीति सुरु गरेको भए पनि आन्तरिक असहयोगका कारण अब स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय गरेको स्पष्ट पारेकी छन्।