‘दुई रुपैयाँ पनि बदमासी गरेको प्रमाणित भए पद छाड्छु’ : अर्थमन्त्री वाग्ले

User Image Prime TV News २ घण्टा अगाडि
Image of ‘दुई रुपैयाँ पनि बदमासी गरेको प्रमाणित भए पद छाड्छु’ : अर्थमन्त्री वाग्ले

काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेर वा सूचना चुहावटमा आफ्नो संलग्नता प्रमाणित भए मन्त्री पद मात्र नभई सार्वजनिक जीवन नै त्याग्ने घोषणा गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको दाबी गरे। सार्वजनिक लेखा समितिमा पनि यही अडान राखेको उल्लेख गर्दै उनले कुनै प्रकारको बेइमानी गरेको प्रमाण प्रस्तुत गर्न चुनौती दिए।

“दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी र बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न तयार छु,” उनले संसदमा भने। अर्थमन्त्री वाग्लेले आफूविरुद्ध उठाइएका आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित भएको संकेत गर्दै आरोप लगाउने सांसदहरूलाई पनि नैतिक जवाफदेहिताको मापदण्ड अपनाउन आग्रह गरे।

“तपाईंहरूका काण्डबारे अनभिज्ञ छु भन्ने नठान्नुस्, ती पनि खुल्नेछन्,” उनले भने। संसद्को गरिमा जोगाउने जिम्मेवारी सांसदहरूकै काँधमा रहेको उल्लेख गर्दै उनले सदनको ओज घटाउने गतिविधिमा नलाग्न आग्रह गरे। सरकारले सुशासनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको दाबी गर्दै उनले छोटो समयमै जनताको विश्वासघात गर्ने प्रश्नै नउठ्ने बताए।

“सुशासनको कठोर प्रतिबद्धता लिएर अघि बढेका छौँ। जनताले अनुमोदन गरेको त्यो विश्वासलाई दुई महिनामै धोका दिन सक्दैनौँ,” उनले भने। पछिल्ला दिनहरूमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर तथा नीतिगत व्यवस्थामा सूचना चुहावट भएको आरोप सार्वजनिक बहसको विषय बनेको छ।

यद्यपि अर्थमन्त्री वाग्लेले ती सबै आरोप अस्वीकार गर्दै प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका छन्।