इरानमाथिको सैन्य आक्रमण स्थगित, युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी

User Image Prime TV News एक महिना अगाडि
Image of इरानमाथिको सैन्य आक्रमण स्थगित, युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा गर्दै युद्ध अन्त्यतर्फ महत्त्वपूर्ण कूटनीतिक प्रगति भएको दाबी गरेका छन् ।

बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ठुलो सहमति नजिक पुगेको बताएका हुन् । यसअघि उनले सामाजिक सञ्जालमार्फत पनि योजनाबद्ध आक्रमणहरू रोकिएको जानकारी दिएका थिए ।

तर इरानले भने ट्रम्पको दाबीलाई पुष्टि गरेको छैन । इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक भएका सम्झौतासम्बन्धी समाचारलाई 'अनुमान मात्र' भन्दै अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेका छन् ।

यसअघि पनि ट्रम्पले पटक–पटक अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति नजिक पुगेको बताएका थिए । तर यसपटकको घोषणाअघि केही घण्टामात्र उनले इरानमाथि कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।

अमेरिका–इरान तनाव गत फेब्रुअरीको अन्त्यदेखि तीव्र बनेको थियो । त्यसयता दुवै पक्षबीच सैन्य तथा कूटनीतिक गतिविधि जारी रहेका छन् । अप्रिलमा युद्धविरामको प्रारम्भिक सहमति भए पनि बीच–बीचमा तनाव र जवाफी कारबाहीका घटनाहरू भइरहेका छन् ।

ट्रम्पले सम्भावित सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकास गर्न नदिने रहेको बताएका छन् । उनले सम्झौता सफल भए यसलाई क्षेत्रीय स्थायित्वका लागि ठूलो उपलब्धि हुने दाबी गरेका छन् ।

उता, ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।