आज प्रतिनिधिसभा बैठकः विनियोजन विधेयकदेखि श्रम महासन्धिसम्मका प्रस्ताव पेश हुँदै
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी प्रस्तावहरू पेश हुने कार्यसूची तय गरिएको छ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्नेछन् । उक्त विधेयकमार्फत सरकारले विभिन्न मन्त्रालय तथा निकायका लागि बजेट खर्च गर्ने कानुनी आधार सुनिश्चित गर्नेछ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी ले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) पेश गर्नेछिन् ।
उनले नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि संसद्मा पेश गर्ने कार्यसूची रहेको छ ।
आजको बैठक बजेट, सांस्कृतिक सम्पदा संरक्षण र श्रम अधिकारसँग सम्बन्धित विषयका कारण विशेष महत्वका साथ हेरिएको छ।







