सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको भन्दै स्थानीयको विरोध

User Image Prime TV News २ घण्टा अगाडि
Image of सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको भन्दै स्थानीयको विरोध

काठमाडौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको आरोप लागेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद उत्पन्न भएको छ। स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीहरू सीमा क्षेत्र हुँदै नेपाली भूभागमा प्रवेश गरेपछि उनीहरूको विरोध गरिएको हो।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालका अनुसार स्थानीयहरूले सुरक्षाकर्मीहरूसँग सीमा पार गरेर प्रवेश गर्नुको कारणबारे प्रश्न गरेका थिए। तर, उनीहरूले स्थानीयको आपत्ति नसुनी नेपाली भूभागभित्रै रहिरहेपछि विरोध चर्किएको बताइएको छ।

स्थानीय स्रोतका अनुसार एसएसबीका सुरक्षाकर्मीहरू शुक्रबार बिहान गस्तीका क्रममा उक्त क्षेत्रमा पुगेका थिए। हतियारसहित उपस्थित सुरक्षाकर्मीहरूलाई देखेपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए। सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको बारम्बार उपस्थितिमाथि पनि स्थानीयले प्रश्न उठाएका छन्।

सुस्ता बचाउ अभियानसँग आबद्ध अवधेश कुशवाहाले सीमा क्षेत्रमा भारतीय पक्षबाट पटक–पटक हुने गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन्। उनले नेपाली पक्षका सम्बन्धित निकायले आवश्यक चासो र पहल नदिँदा सुस्तावासीले दोहोरो समस्या भोग्नुपरेको बताए।

उनका अनुसार सीमा विवादका विषयमा सम्बन्धित निकाय समयमै नबोल्दा र आवश्यक जानकारी नदिँदा स्थानीयवासी थप अन्योल र दबाबमा पर्ने गरेका छन्। सुस्ता क्षेत्र नेपाल–भारत सीमा विवादका कारण विगतदेखि नै संवेदनशील मानिँदै आएको छ।

यसअघि जेठ १९ गते पनि तटबन्ध निर्माणको विषयलाई लिएर दुवै पक्षबीच तनाव उत्पन्न भएको थियो। त्यतिबेला भारतीय सुरक्षाकर्मीहरूले उक्त क्षेत्रलाई विवादित भन्दै निर्माण कार्य रोक्न आग्रह गरेका थिए। यस घटनाप्रति राजनीतिक वृत्तबाट पनि प्रतिक्रिया आएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सीमा सुरक्षामा सरकारको भूमिका प्रभावकारी नभएको टिप्पणी गर्दै आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा पनि उनले विषय उठाउँदै रक्षामन्त्रीबाट स्पष्ट जवाफ माग गरेका छन्। सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति, सुरक्षा व्यवस्था तथा सम्भावित सम्झौतासम्बन्धी विषय सार्वजनिक गर्नुपर्ने उनको माग छ।

सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाले सीमा सुरक्षा, कूटनीतिक समन्वय र स्थानीय नागरिकको सुरक्षासम्बन्धी प्रश्नलाई पुनः चर्चामा ल्याएको छ। सम्बन्धित निकायबाट आधिकारिक धारणा आउन बाँकी रहेको छ।