सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद भरत खड्काले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।
सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत, लगानी तथा सेयर स्वामित्वबारे विभिन्न प्रश्न उठेका थिए। विवाद बढेपछि सरकारले विषयको अध्ययन तथा छानबिन गर्न विशेष समिति गठन गरेको थियो।
समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको एक साता बितिसकेको भए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन। यसले प्रतिवेदनको निष्कर्ष र त्यसमा समेटिएका विषयवस्तुबारे थप जिज्ञासा र चासो बढाएको छ।
यसबीच प्रतिवेदन बुझाइसकेपछि सुधन गुरुङ पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किएका छन्। तर उनीमाथि गरिएको छानबिनको प्रतिवेदन सार्वजनिक नभएकाले पारदर्शिता र जवाफदेहिताको विषयमा प्रश्न उठिरहेको छ।
प्रतिनिधिसभामा बोल्दै सांसद खड्काले जनचासोको विषय बनेको प्रतिवेदन तत्काल सार्वजनिक गरी सत्यतथ्य स्पष्ट गर्न सरकारसँग आग्रह गरेका छन्। उनले सार्वजनिक पदमा रहेका व्यक्तिसम्बन्धी छानबिन प्रतिवेदन गोप्य राखिनु उचित नहुने धारणा व्यक्त गरे।
कांग्रेसले प्रतिवेदन सार्वजनिक गरेर उठेका प्रश्नहरूको जवाफ दिन र जनविश्वास कायम गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ। हालसम्म सरकारको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्ने विषयमा कुनै औपचारिक जानकारी आएको छैन।







