काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, सात जनाको मृत्यु
Prime TV News ९ घण्टा अगाडि 
काठमाडौ । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयबासी, सुरक्षाकर्मी र उद्धार टोलीले तत्कालै उद्धार कार्य अघि बढाएका थिए। प्रहरीले सडक सुरक्षा र दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।







