सुस्ता घटनाबारे सरकारको प्रतिक्रिया : ‘परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्छ’
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । सरकारले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको विषयमा आवश्यक कूटनीतिक पहल गरिने जनाएको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुस्तावासीको भूमिकाको प्रशंसा गर्दै सम्बन्धित निकायले आवश्यक कदम चाल्ने बताएका हुन्।
उनले सुस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले आफ्नो भूमि र राष्ट्रिय हितको रक्षा गर्दै आएको उल्लेख गर्दै उनीहरूको योगदान सम्मानयोग्य रहेको बताए। साथै, घटनाबारे परराष्ट्र मन्त्रालयले आवश्यक प्रक्रिया र पहल अघि बढाउने जानकारी दिए।
शुक्रबार सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए। स्थानीयको प्रतिकारपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। यस घटनापछि सीमा सुरक्षा र नेपाल–भारत सीमाक्षेत्रको व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ।







