रियल म्याड्रिडले भिलारियललाई ३–१ ले हरायो
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । भिनिसियस जुनियरले २ गोल गरेपछि स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिलारियललाई ३–१ ले हराएको छ। रियलले गत हप्ताको छिमेकी क्लब एट्लेटिको म्याड्रिडसँग लज्जास्पद हार बेहोरेको छ।
भिल्लारियललाई पराजित गरेसँगै रियल ला लिगाको शीर्ष स्थानमा पुगेको छ। दोस्रो हाफ सुरु भएको ९० सेकेन्डमै भिनिसियसले गोल गर्दै खेलको खाता खोले।
उनले किलियन एमबाप्पेको पासबाट हानेको सटमा बल भिल्लारियलका सान्टि कोमेसानाको खुट्टामा लागेर गोल भयो। खेलको ६९औं मिनेटमा उनलाई राफा मारिनले पेनाल्टी बक्समा फाउल गरेपछि रियलले पेनाल्टी पायो।
भिनिसियसले त्यसमा गोल गर्दै अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा जर्ज मिकाउताद्जेले बल नियन्त्रण गर्दै थिबाउट कर्टोइसलाई मौका नदिइ गोल फर्काए। पछि भिल्लारियलका सान्तियागो मौरिनोले भिनिसियसलाई फाउल गरेपछि दोस्रो पहेँलो कार्ड पाए र मैदानबाट निकालिए।
८१ औं मिनेटमा एमबाप्पेले ब्राहिम डायाजको पासमा गोल गर्दै रियलको जित निश्चित गरे। जितसँगै रियलको ८ खेलपछि २१ अंक पुगेको छ। २ अंकले पछि रहेको बार्सिलोनाले आइतवार सेभियासँग खेल्नेछ। भिल्लारियल १६ अंकसहित तेस्रो स्थानमा कायम छ।







