नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

User Image Prime TV News ३ दिन अगाडि
Image of नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्। उनी वाङ यी को निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।

नेपालको परराष्ट्र मन्त्रालय का अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा हितका विषयमा विस्तृत वार्ता हुनेछ। भेटवार्तामा आर्थिक, व्यापारिक तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि शिष्टाचार तथा कार्यगत भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत मन्त्री खनाल सहभागी हुनेछन्।

सम्मेलनका अवसरमा उनले चिनियाँ उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष छलफल गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम छ। यस्तै, मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोह आयोजना गर्नेछ, जहाँ उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

चारदिने भ्रमण पूरा गरी मन्त्री खनाल आगामी ३ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको छ। नेपाल–चीन सम्बन्ध तथा आर्थिक सहकार्य विस्तारका दृष्टिले यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।