दसैंका लागि राष्ट्र बैंकले सुकिला नोट सटही खुला गर्यो


काठमाडौं l दसैं नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकले आम नागरिकका लागि सुकिला नोट सटहीको व्यवस्था गरेको छ। राष्ट्र बैंकले आइतबार सूचना प्रकाशित गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिने जानकारी दिएको हो।
दसैंजस्तो ठूलो पर्वमा नयाँ नोटको माग उच्च हुने भएकाले प्रत्येक वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले सटही कार्यक्रम सञ्चालन गर्न लागेको हो। यद्यपि, अघिल्ला केही वर्षदेखि राष्ट्र बैंकले पुराना नोटलाई नयाँसँग बदल्ने प्रक्रिया नगरी सिर्फ सुकिला अर्थात् सफा तथा प्रयोग गर्न मिल्ने अवस्थामा रहेका नोटहरू मात्र सटही गर्दै आएको छ।
राष्ट्र बैंकका अनुसार देशभरका विभिन्न कार्यालयहरूमार्फत सुकिला नोट सटही गर्न सकिनेछ। मुख्य कार्यालय, मुद्रा व्यवस्थापन विभाग थापाथली सहित प्रदेश स्तरीय कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढीमा सुकिला नोट साट्न सकिने जनाईएको छ ।
दसैंको टीका तथा दक्षिणाका लागि परम्परागत रूपमा नयाँ नोट दिने चलन रहेको हुँदा यस्तो नोटको माग अत्यधिक हुने गर्दछ। यसरी सटही गरिने नोटहरू सामान्यतया साना दरका ५, १०, २०, ५० र १०० दरका हुने गर्छन्। राष्ट्र बैंकको यो व्यवस्था नागरिकहरूका लागि विशेष उपयोगी हुने देखिन्छ, जसले दसैंको समयमा आवश्यक सुकिला नोट सजिलै प्राप्त गर्न मद्दत पुर्याउनेछ। इच्छुक सेवाग्राहीहरूले तोकिएको मितिमा नजिकको राष्ट्र बैंक कार्यालयमा सम्पर्क गरेर सेवा लिन सक्नेछन्।