सक्रिय वर्षा गराउने न्यूनचापीय प्रणाली बहिरियो

User Image Prime TV News ११ घण्टा अगाडि
Image of सक्रिय वर्षा गराउने न्यूनचापीय प्रणाली बहिरियो

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले नेपालमा सक्रिय वर्षा गराउने न्यूनचापीय प्रणाली देशबाट बहिरिएपछि मनसुन कमजोर भई मौसममा सुधार देखिएको जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलद्वारा जारी विज्ञप्तिमा हालको मौसम अवस्था सामान्य हुँदै गएको स्पष्ट गरिएको छ। यद्यपि नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन भने अझै बाँकी रहेको विभागको भनाइ छ।

विभागका अनुसार वर्षा गराउने प्रणाली बाहिरिए पनि मनसुन प्रणाली देशमा यथावत रहेकाले अझै केही दिन मौसम परिवर्तनशील रहन सक्छ। त्यसैले मौसमसम्बन्धी अवस्था तथा सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै विभागले नियमित अनुगमन जारी राखेको जनाएको छ।

विभागले नागरिकलाई सतर्क रहन आग्रह गर्दै विभागद्वारा जारी गरिने पूर्वसूचना तथा अद्यावधिक जानकारीहरू विभागको वेबसाइट, सामाजिक सञ्जाल, टोल-फ्रि सेवा ११५५ तथा एसएमएस प्रणालीबाट प्राप्त गर्न सकिने जनाएको छ।

विभागले विशेषगरी कृषि, यात्रा, र निर्माण कार्यमा संलग्न नागरिकलाई मौसम अनुसार सावधानी अपनाउन सुझाव दिएको छ। हाल मौसममा सुधार देखिए तापनि आकस्मिक वर्षा वा अन्य प्राकृतिक घटनाको सम्भावना यथावत रहेकाले सतर्कता जरुरी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।