मेस्सीको नयाँ इतिहास : विश्वकपका ६ संस्करण खेल्ने पहिलो फुटबलर
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । फिफा विश्वकपको इतिहासमा लियोनल मेस्सी ले नयाँ कीर्तिमान बनाएका छन्।
अर्जेन्टिनाका स्टार फरवार्ड मेस्सी विश्वकपका ६ वटा संस्करणमा सहभागिता जनाउने पहिलो खेलाडी बनेका छन्। उनले अमेरिकाको कान्सास सिटीमा भएको खेलमा अल्जेरिया विरुद्ध मैदानमा उत्रिँदै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।
मेस्सीले यसअघि सन् २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेलिसकेका थिए। २०२६ संस्करणसँगै उनको विश्वकप यात्रा छैटौं पटक पुगेको हो।
रेकर्डमा मात्रै सीमित नरहँदै मेस्सीले खेलमा गोल पनि गरे। उनले खेलको १७औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।
विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने मेस्सीले विश्वकपमा अर्को ऐतिहासिक अध्याय थपेका छन्। अब प्रतियोगितामा अर्जेन्टिनाको यात्रासँगै उनको व्यक्तिगत प्रदर्शनमाथि पनि विश्वभरको ध्यान केन्द्रित भएको छ।







