बक्यौता नतिर्ने उद्योगमाथि कारबाही, औद्योगिक क्षेत्रमा बिजुली र पानी काट्न थालियो

User Image Prime TV News ३ घण्टा अगाडि
Image of बक्यौता नतिर्ने उद्योगमाथि कारबाही, औद्योगिक क्षेत्रमा बिजुली र पानी काट्न थालियो

काठमाडौ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा, विद्युत्, पानी तथा अन्य सेवा शुल्क नतिर्ने उद्योग तथा निकायविरुद्ध कडा कदम चाल्दै विद्युत् र पानीको लाइन काट्न सुरु गरेको छ।

लिमिटेडका अनुसार देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित ६ सय ३५ उद्योग तथा निकायबाट कुल ८८ करोड ४५ लाख रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ। गत जेठ २५ गते सूचना जारी गर्दै सात दिनभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिइएको थियो। तर, चेतावनीपछि पनि धेरै उद्योगले रकम नबुझाएपछि सेवा विच्छेदको प्रक्रिया अघि बढाइएको हो।

हालसम्म एक दर्जनभन्दा बढी उद्योगको विद्युत् आपूर्ति बन्द गरिएको छ। बालाजु औद्योगिक क्षेेत्रमा रहेका बालाजु अटो क्लिनिक, गुराँस इन्जिनियर, बालाजु अटो वर्क्स र आरके प्लास्टिकको लाइन काटिएको छ। त्यसैगरी पाटन औद्योगिक क्षेत्र अन्तर्गतका अनुज मेटल, बिल्डिङ मटेरियल (बीरा), नेप्लिज ह्यान्डिक्राफ्ट, सरस्वती टेक्स्टायल, हिमालयन क्राफ्ट तथा भैरवनाथ आइरनको विद्युत् सेवा पनि विच्छेद गरिएको छ।

यस्तै नेपालगंज औद्योगिकका अरमान ट्रेडर्स र लभ ए रेस्ट्रो तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सञ्चालित श्री अन्नु फुड एन्ड स्न्याक्स इन्डस्ट्रिजको पनि लाइन काटिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका एक अधिकारीका अनुसार पूर्ण रूपमा बक्यौता बेवास्ता गर्ने उद्योगहरूको लाइन तत्काल काटिएको छ भने आंशिक रकम बुझाएर बाँकी राख्ने उद्योगमाथि पनि थप कारबाहीको तयारी भइरहेको छ। बक्यौता रकम भुक्तानी गरेपछि सेवा पुनः जडान गरिने व्यवस्था मिलाइएको उनले बताए।

तथ्यांकअनुसार सबैभन्दा बढी बक्यौता बालाजु औद्योगिक क्षेत्रमा रहेको छ । यहाँका १५१ उद्योग तथा प्रतिष्ठानले ४३ करोड ९० लाख रुपैयाँ तिर्न बाँकी छ। दोस्रो स्थानमा हेटौडा औद्योगिक क्षेत्रका १३१ उद्योग छन्, जसको बक्यौता २० करोड ९० लाख रुपैयाँ पुगेको छ। पाटन औद्योगिक क्षेत्रमा ९४ उद्योगले १० करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको छ।