दुर्गा प्रसाई समूह र धवलशमशेर पक्षबीच नयाँ पार्टी निर्माणको तयारी

User Image Prime TV News ४ घण्टा अगाडि
Image of दुर्गा प्रसाई समूह र धवलशमशेर पक्षबीच नयाँ पार्टी निर्माणको तयारी

काठमाडौ । दुर्गा प्रसाई नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान” को केन्द्रीय कार्यसमितिको बैठकले आगामी राजनीतिक पार्टी गठनसम्बन्धी रणनीति र कार्यादेशबारे छलफल गरेको छ।

काठमाडौंको एक होटलमा सम्पन्न बैठकमा पार्टीको संरचना, संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँटका विषयमा विस्तृत छलफल भएको प्रसाईको सचिवालयले जनाएको छ। बैठकमा प्रसाई पक्षीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको धवलशमशेर राणा समूह र दुर्गा प्रसाई नेतृत्वको महाअभियानबीच नयाँ राजनीतिक दल गठन गर्ने तयारी तीव्र बनेको छ। दुवै पक्षले बृहत् राष्ट्रवादी एकता कायम गर्दै नयाँ पार्टी निर्माण गर्ने सहमति गरे पनि पार्टीको नाम टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।

स्रोतका अनुसार दुई समूहबीच यसअघि जेठ ३१ गते विभागीय जिम्मेवारी बाँडफाँटसमेत गरिएको थियो। नयाँ दलको औपचारिक घोषणा, संरचना र नेतृत्व व्यवस्थापनबारे भने छलफल जारी रहेको बताइएको छ। राजनीतिक पुनर्सरचनाको प्रयाससँगै आगामी रणनीति र संगठन विस्तारलाई लिएर दुवै पक्षले तयारी तीव्र पारेका छन्।