एमालेभित्र नेतृत्व पुनर्गठनको बहस तीव्र, कोशीका नेताले पनि उठाए ओलीको विकल्पको प्रश्न
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियानअन्तर्गत नेकपा एमालेको कोशी प्रदेशस्तरीय बैठकमा नेताहरूले पार्टी नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका छन्।
सहभागी अधिकांश नेताहरूले वर्तमान नेतृत्वबाट पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउन कठिन भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीसहित समकालीन नेतृत्वले विश्राम लिनुपर्ने धारणा राखेका छन्। मंगलबार विराटनगरमा सम्पन्न समीक्षा बैठकमा बोल्ने अधिकांश नेताहरूले एमालेको संगठनात्मक र राजनीतिक पुनःनिर्माणका लागि नेतृत्व तहमा व्यापक पुनर्गठन आवश्यक रहेको बताएका थिए।
उनीहरूले केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्वको नयाँ संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार धेरै वक्ताहरूले वर्तमान नेतृत्वप्रति जनतामा उत्साह र विश्वास कमजोर बन्दै गएको टिप्पणी गरेका थिए। उनीहरूले अबको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने र पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
अर्का एक सहभागीका अनुसार बैठकमा अध्यक्ष ओलीका समकालीन नेताहरूबाट पनि अब प्रभावकारी नेतृत्व सम्भव नहुने तर्क राखिएको थियो। पार्टीलाई भविष्यतर्फ डोर्याउन नयाँ नेतृत्व विकास आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो।
यद्यपि, झापाका केही नेताहरूले भने वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीको विकल्प खोज्ने समय नभएको भन्दै नेतृत्व परिवर्तनको बहसप्रति फरक मत राखेका थिए। एमाले कोशी प्रदेश अध्यक्ष विनोद ढकालले बैठकमा अधिकांश सहभागीहरूले पार्टी पुनर्गठन र संगठन सुदृढीकरणका पक्षमा धारणा राखेको जानकारी दिए। उनले प्राप्त सुझावहरू पार्टीको केन्द्रीय तहमा प्रस्तुत गरिने बताए।
जेठ ३० गते बागमती प्रदेशबाट सुरु भएको एमालेको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा सुझाव संकलन अभियान हाल विभिन्न प्रदेशमा जारी छ। पार्टीले असार महिनाभर प्रदेश, सम्पर्क समन्वय, जनसंगठन तथा विभागीय नेतृत्वसँग क्रमशः छलफल गर्ने कार्यतालिका तय गरेको छ।
गत निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको एमालेभित्र पछिल्लो समय नेतृत्व पुनर्गठनको बहस तीव्र बन्दै गएको छ। पार्टीको आन्तरिक छलफलमा नेतृत्व परिवर्तन, संगठन पुनर्संरचना र भावी रणनीतिका विषय प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन्।







