मधेसमा अधिवेशन रोकिएको विषयमा लामिछानेले गरे मधेसका सांसदहरूसँग छलफल

User Image Prime TV News ३ घण्टा अगाडि
Image of मधेसमा अधिवेशन रोकिएको विषयमा लामिछानेले गरे मधेसका सांसदहरूसँग छलफल

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेस प्रदेशमा जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न हुन नसकेको विषयमा मधेसका पार्टी सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार बिहान आयोजित छलफलमा मधेस प्रदेशका विभिन्न जिल्लामा अधिवेशन प्रक्रिया प्रभावित हुनुका कारण, संगठनभित्र देखिएका विवाद तथा सदस्यता व्यवस्थापनसम्बन्धी समस्याबारे सांसदहरूले सभापति लामिछानेलाई जानकारी गराएका थिए।

छलफलमा सहभागी एक सांसदका अनुसार प्रदेश सभापति तपेश्वर यादवको कार्यशैलीबारे समेत गुनासो उठाइएको थियो। केही सांसदहरूले संगठन सञ्चालनमा एकल निर्णय र जातीय राजनीतिक प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लगाएका थिए। प्रदेश सभापति यादव भने उक्त छलफलमा सहभागी थिएनन्।

सांसदहरूले अनलाइन माध्यमबाट सदस्यता वितरण गर्ने वर्तमान प्रणाली मधेस प्रदेशको सामाजिक तथा प्राविधिक अवस्थासँग पूर्ण रूपमा मेल नखाने धारणा राखेका थिए। अनलाइन सदस्यता प्रक्रियाको दुरुपयोग गर्दै केही व्यक्तिले अरूको नाममा सदस्यता भर्ने र संगठनमा प्रभाव बढाउने प्रयास गरेको गुनासो पनि सभापति समक्ष राखिएको थियो।

त्यस्तै, निर्वाचनअघि पार्टीमा सक्रिय रहेका सदस्यहरू र पछिल्लो समय सदस्यता लिएका नयाँ सदस्यहरूबीच नेतृत्व तथा प्रतिनिधित्वको विषयमा असन्तुष्टि बढेको जानकारी पनि सांसदहरूले गराएका थिए। चुनावी अभियानमा सक्रिय भूमिका खेलेका पुराना कार्यकर्तालाई उचित स्थान नदिँदा संगठनभित्र मतभेद बढेको उनीहरूको भनाइ थियो।

हाल मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ। अन्य जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि नेतृत्व चयन हुन नसक्दा स्थगित अवस्थामा रहेका छन्। छलफलका क्रममा सभापति लामिछानेले मधेस प्रदेशका जिल्लाहरूमा अधिवेशन सम्पन्न गराउन आफू स्वयं उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै जिल्ला तहका विवाद समाधान गरेर संगठनलाई एकताबद्ध बनाउने प्रयास गरिने बताएका छन्।

रास्वपाले पहिलो महाधिवेशनको तयारी गरिरहेको अवस्थामा मधेस प्रदेशमा देखिएका संगठनात्मक चुनौतीलाई समाधान गर्न नेतृत्वले विशेष चासो दिएको देखिएको छ।