रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । व्यवसायी रामहरि श्रेष्ठको अपहरण तथा हत्या प्रकरणमा दोषी ठहर भएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्।
बटाला बुधबार सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालत प्रशासनले उनलाई कारागार कार्यालय डिल्लीबजार पठाएको जनाएको छ। सर्वोच्च अदालतले २०८३ जेठ २८ गते पुनरावलोकन सुनुवाइ गर्दै बटालालाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले यसअघिको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेको हो। कालिकोटको माल्कोट स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका बटाला तत्कालीन माओवादी जनमुक्ति सेनाका ब्रिगेड कमान्डरसमेत थिए।
नेपालको कानुनी व्यवस्था अनुसार फैसला भएको मितिले ६० दिनभित्र स्वयं अदालतमा उपस्थित भई कैद भुक्तान गर्न गएमा तोकिएको जरिवानामा २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार बटालाले कानुनी सहुलियत पाउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
व्यवसायी रामहरि श्रेष्ठलाई २०६८ असार ६ गते काठमाडौंबाट अपहरण गरी चितवन लगिएको र त्यहाँ हत्या गरिएको अभियोगमा बटाला दोषी ठहर भएका हुन्। उक्त घटना शान्ति प्रक्रियापछिका चर्चित आपराधिक तथा मानवअधिकारसँग सम्बन्धित मुद्दामध्ये एक मानिन्छ। सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै लामो समयदेखि कानुनी प्रक्रियामा रहेको यो मुद्दाले नयाँ निष्कर्ष प्राप्त गरेको छ।







