प्रतिनिधिसभाको बैठक आज बस्दै, विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रतिनिधिसभाको बैठक आज बस्दै, विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने

काठमाडौ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८३ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक, २०८३ लाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यसैगरी रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले उठाएका जिज्ञासाको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा दर्ता भएका खर्च कटौतीका प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिनेछन्। सांसदहरू मोहम्मद इस्तियाक राई, कृपाराम राना, युवराज दुलाल, पार्वती विक, एशुदा कुमारी बराल, जोगकुमार बरबरिया यादव, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, नीता घतानी तथा परशुराम तामाङले दर्ता गराएका खर्च कटौतीका प्रस्तावमाथि निर्णय हुने कार्यसूची छ।

यस्तै अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल तथा पद्माकुमारी अर्यालले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

आजको बैठकलाई चालु बजेट अधिवेशनको महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ, जहाँ विनियोजन विधेयक पारित गर्ने प्रक्रियाले अन्तिम रूप लिने अपेक्षा गरिएको छ।