अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको आरोपबारे कांग्रेसको प्रश्न, संसदीय छानबिनको माग
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न दबाब दिइएको भन्ने विषयमा सरकारसँग जवाफ माग गरेको छ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङ ले उक्त विषय संसद्मा उठाएका हुन्।
सांसद केरुङले संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा राखेर पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइएको भन्ने सूचना सार्वजनिक भएको दाबी गरे। उनले यस्तो आरोप सत्य भए संवैधानिक निकायको स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप भएको ठहर हुने बताए।
उनले घटनाबारे सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। साथै, बालेन्द्र शाहले स्वयं संसदमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने र सभामुखले यस विषयमा आवश्यक रुलिङ गर्नुपर्ने उनको आग्रह थियो।
कांग्रेसले उठाएको आरोपबारे सरकार वा सम्बन्धित निकायबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन। संसदमा उठेको यो विषयले संवैधानिक निकायहरूको स्वतन्त्रता र कार्यसम्पादनमाथि प्रभाव परेको हो वा होइन भन्ने प्रश्नलाई राजनीतिक वृत्तमा थप चर्चाको विषय बनाएको छ।







