एमालेको लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि, पुनर्गठन र निर्वाचन समीक्षामा केन्द्रित
Prime TV News ४ घण्टा अगाडि 
बुटवल । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी पुनर्गठन अभियान तथा पछिल्लो निर्वाचन समीक्षा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि सुरु हुँदैछ। यसअघि बागमती र कोशी प्रदेशमा सम्पन्न कार्यक्रमपछि अब लुम्बिनीमा बैठक हुन लागेको हो।
पार्टी स्रोतका अनुसार बैठक कपिलवस्तुको चन्द्रौटामा आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन केन्द्रीय नेतृत्वको टोली लुम्बिनी आइपुगेको छ। लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहनेछ।
सहभागी हुने नेताहरूमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायत रहेका छन्। बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको सहभागिता रहने बताइएको छ।
पार्टी पुनर्गठन, संगठनात्मक सुधार, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी राजनीतिक रणनीति तय गर्नु बैठकको मुख्य एजेन्डा रहेको अध्यक्ष कंडेलले जानकारी दिए। संगठनलाई थप सुदृढ बनाउने र कार्यकर्ताको सक्रियता बढाउने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, बागमती र कोशी प्रदेशमा सम्पन्न यसअघि भएका छलफलहरूमा सहभागी केही नेताहरूले पार्टी नेतृत्व परिवर्तन र पुनर्गठनको आवश्यकता रहेको धारणा राखेका थिए। त्यस्तै, पार्टी सचिवालयभित्र पनि वर्तमान अध्यक्ष केपी शर्मा ओली को नेतृत्वबारे बहस चुलिएको र दुई तिहाइभन्दा बढी पदाधिकारीले नेतृत्व परिवर्तनको पक्षमा मत राखेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।







