रास्वपाले महाधिवेशनका लागि तोक्यो प्रतिनिधि मापदण्ड
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी साता चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधित्व सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ।
महाधिवेशन आयोजक समितिले जारी गरेको मापदण्ड अनुसार विभिन्न तह र संरचनाबाट प्रतिनिधिहरू चयन गरिनेछ। विशेषगरी अधिवेशन हुन नसकेको मधेश प्रदेश सहित सबै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
मापदण्ड अनुसार आयोजक समिति गठन हुँदा केन्द्रीय पोर्टलमा दर्ता भएका प्रदेश समिति पदाधिकारी तथा सदस्यहरूलाई महाधिवेशनमा प्रतिनिधित्व दिइनेछ। साथै प्रदेश अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग तथा प्रदेश विभागका पदाधिकारीहरू पनि सहभागी हुनेछन्।
त्यस्तै, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिवहरूलाई पनि प्रतिनिधित्वको अवसर दिइने व्यवस्था गरिएको छ। प्रदेश–काठमाडौं सम्पर्क विभागबाट प्रमुखसहित तीन जना प्रतिनिधि रहनेछन्, जसमा एक महिला अनिवार्य गरिएको छ।
जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाबाट सभापतिसहित तीन जना प्रतिनिधि सहभागी हुन पाउनेछन्। यदि महिला प्रतिनिधि समावेश नभएमा दुई जनामात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरिएको छ। निर्वाचन क्षेत्रका हकमा, निर्वाचन क्षेत्र खारेज भएको अवस्थामा प्रतिनिधित्व नगराइने र खारेज नभएका क्षेत्रबाट संयोजकमात्र सहभागी हुन पाउने उल्लेख छ।
निर्वाचन सम्पन्न भएका पालिकामा सभापति वा समितिले तोकेको एक जना पदाधिकारी वा सदस्य प्रतिनिधि बन्न पाउनेछन् भने तदर्थ समिति रहेका पालिकामा सभापति मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। तर सभापतिले अर्को व्यक्ति पठाउन नपाउने प्रावधान पनि मापदण्डमा समावेश गरिएको रास्वपाले जनाएको छ।







