अलपत्र परेका यात्रुहरूलाई चार्टर्ड फ्लाइटमार्फत काठमाडौं पठाइने
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नवलपरासीदेखि पूर्वतर्फ निरन्तर परेको भारी वर्षाका कारण राष्ट्रिय राजमार्गहरू अवरुद्ध हुँदा धेरै यात्रुहरू विभिन्न स्थानमा अलपत्र परेका छन्। विशेषगरी नारायणी क्षेत्रदेखि पूर्वका राजमार्गहरु शुक्रबार रातिदेखि बन्द भएका कारण अत्यावश्यक कार्यका लागि काठमाडौं जान चाहने यात्रुहरू प्रभावित भएका छन्।
रूपन्देही जिल्लामा पनि वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ चार्टर्ड फ्लाइटमार्फत् अलपत्र परेका यात्रुहरूलाई काठमाडौं पठाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार, आइतबार राति ८ बजे १५८ सिट क्षमताको नेपाल वायुसेवा निगमको जहाज पठाउने तयारी छ।
उनले बताए अनुसार, उपचारका लागि काठमाडौं जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जाने टिकटधारी यात्रु, र पर्यटकहरूलाई प्राथमिकता दिई सेवा प्रदान गरिनेछ।












