सांसद हर्क साम्पाङको ड्राइभिङ लाइसेन्स रद्द भएको भेटियो, ट्राफिक प्रहरीद्वारा छानबिन जारी

User Image Prime TV News २ घण्टा अगाडि
Image of सांसद हर्क साम्पाङको ड्राइभिङ लाइसेन्स रद्द भएको भेटियो, ट्राफिक प्रहरीद्वारा छानबिन जारी

काठमाडौ । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) स्वतः रद्द भएको भेटिएको छ।

यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख अनुसार उनले तोकिएको समयभित्र नवीकरण नगरेपछि लाइसेन्स अमान्य भएको देखिएको हो। अभिलेख अनुसार साम्पाङले २०७१ पुस ६ पछि आफ्नो श्रेणी (ए) लाइसेन्स नवीकरण नगरेको र २०७३ पुस १२ मा म्याद समाप्त भएको पाइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार तोकिएको अवधिभित्र नवीकरण नभए चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ। प्रहरी प्रधान कार्यालय अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार यस विषयमा थप छानबिन भइरहेको छ। एक उच्च अधिकृतले कानुनी परामर्श समेत जारी रहेको बताएका छन्।

त्यस्तै, म्याद सकिएको पाँच वर्षभित्र जरिवाना तिरेर लाइसेन्स नवीकरण गर्न सकिने व्यवस्था भए पनि उनले लामो समयदेखि नवीकरण नगरेको पाइएको बताइएको छ। यसअघि पनि साम्पाङसँग सम्बन्धित ट्राफिक नियम उल्लंघनका घटना सार्वजनिक भएका थिए।

जेठ २९ गते उदयपुरको मदन भण्डारी लोकमार्गमा उनले चलाएको मोटरसाइकल लापरबाहीपूर्वक सञ्चालन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही गरेको थियो। सो घटनामा एउटा हातले ह्यान्डल समातेर अर्को हातले भिडियो खिच्दै सवारी चलाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको थियो।

त्यसपछि ट्राफिक प्रहरी कार्यालय इटहरीले जारी गरेको चिट समेत सार्वजनिक गरिएको थियो।

हालसम्म यस विषयमा हर्क साम्पाङ वा उनको सचिवालयबाट औपचारिक प्रतिक्रिया आएको छैन।