होर्मुज स्ट्रेटबारे विवाद: अमेरिकासँगको सम्झौता उल्लंघन गर्दै शुल्क असुल्ने इरानको घोषणा

User Image Prime TV News २ घण्टा अगाडि
Image of होर्मुज स्ट्रेटबारे विवाद: अमेरिकासँगको सम्झौता उल्लंघन गर्दै शुल्क असुल्ने इरानको घोषणा

काठमाडौ । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल गरिने बताएका छन्। उनले यसलाई अमेरिका र इरानबीच भएको सम्झौता विपरीतको कदमलाई संकेत गर्दै इरान आफ्नो नीति परिवर्तन गर्ने पक्षमा रहेको बताएका हुन्।

सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा गालिबाफले होर्मुज स्ट्रेट अब युद्धअघिको अवस्थामै फर्किन नसक्ने बताएका छन्। उनका अनुसार उक्त जलमार्गमा इरानको सार्वभौम अधिकार रहेको र सेवाका लागि शुल्क असुल्ने व्यवस्था लागू गरिनेछ।

“होर्मुज स्ट्रेट युद्धअघिको अवस्थामा फर्किँदैन,” उनले भने, “इरानलाई यस जलमार्गमाथि सार्वभौम अधिकार छ र सेवाहरूका लागि शुल्क असुलिने छ।” तर, अमेरिका र इरानबीच भएको सम्झौतामा होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूबाट कर नलिने व्यवस्था उल्लेख गरिएको बताइएको छ।

उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले फ्रान्समा आयोजित जी–७ शिखर सम्मेलनका क्रममा भर्चुअल रूपमा हस्ताक्षर गरेको उल्लेख छ। १४ बुँदे उक्त दस्तावेजलाई ‘मेमोरन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)’ भनिएको छ, जसमा इरानले परमाणु हतियार निर्माण नगर्ने लगायतका शर्त समेटिएका छन्।

गालिबाफले अमेरिका–इरानबीचको प्रारम्भिक शान्ति सम्झौताको आधार कमजोर रहेको टिप्पणीसमेत गरेका छन्। यसैबीच, ट्रम्पले इरानले सम्झौताका शर्तहरू पूरा नगरे पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। यसले दुई देशबीचको तनाव पुनः बढ्ने संकेत देखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।