प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिश्चित, सभामुखको आनाकानी
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको मिति अझै तय हुन नसकेको छ। प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा यस्तो कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसपटक कार्यान्वयनमा ढिलाइ देखिएको छ।
सभामुख डोलप्रसाद अर्यालले असार महिनाका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले हुने भन्ने विषयमा औपचारिक निर्णय नगरेको संसद् स्रोतले जनाएको छ। नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था छ।
सो अनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा तोक्नुपर्ने प्रावधान छ। तर, यस महिनाको हकमा उक्त समय निर्धारण नभएकाले कार्यक्रम अनिश्चित बनेको हो। यदि पहिलो हप्तामा बैठक हुन नसकेमा लगत्तै बस्ने बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने व्यवस्था भए पनि त्यसको पालना भएको देखिएको छैन।
यसअघि जेठ महिनामा पनि नियमअनुसार प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको थिएन। यद्यपि १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह स्वयं प्रतिनिधिसभामा उपस्थित भई सांसदका प्रश्नहरूको जवाफ दिएका थिए। त्यस दिन प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै थप स्पष्टिकरणको माग गरेका थिए।
हाल प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन हुने वा कहिले हुने भन्ने विषयमा अन्योल कायम रहेको छ। संसद्मा यसबारे औपचारिक घोषणा नआएकाले आगामी कार्यसूचीबारे चासो बढेको छ।







