विपद् व्यवस्थापनमा राज्यकोषको दुरुपयोग रोक्न गृहमन्त्री गुरुङको निर्देशन

User Image Prime TV News ६ घण्टा अगाडि
Image of विपद् व्यवस्थापनमा राज्यकोषको दुरुपयोग रोक्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा राज्यकोषको दुरुपयोग रोक्न कडा निर्देशन दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै उनले विगतमा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा अनावश्यक रूपमा हेलिकप्टर प्रयोग हुने गरेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए।

गुरुङले यसपटक त्यस्ता अनावश्यक भ्रमण र खर्च नियन्त्रण गर्न निर्देशन दिँदै राज्यको सम्पत्ति दुरुपयोग नगर्न स्पष्ट चेतावनी दिए। उनले आफू स्वयं पनि विपद् सम्बन्धी कामका लागि हेलिकप्टर प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “म आफैं पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन।”

बैठकमा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो। गृहमन्त्रीले विपद् व्यवस्थापनमा परम्परागत ढाँचाले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याए। उनका अनुसार विपद् आएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने अभ्यासले क्षति न्यूनीकरण गर्न नसकेको भन्दै पूर्वतयारी र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले बाढी–पहिरोको उच्च जोखिम भएका क्षेत्रमा अग्रिम तयारी गर्न र सबै निकायलाई एकीकृत टोलीका रूपमा काम गर्न निर्देशन दिए। “सबै निकाय एकीकृत रूपमा काम गरेमा विपद्को समयमा कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था बनाउन सकिन्छ,” उनले बैठकमा भने।