पूर्वाधार विकास मन्त्रालयले १० खर्बको बहुवर्षीय टेन्डर खुलाउने योजना

User Image Prime TV News ४ घण्टा अगाडि
Image of पूर्वाधार विकास मन्त्रालयले १० खर्बको बहुवर्षीय टेन्डर खुलाउने योजना

काठमाडौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संघीय सरकारले यो आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरको टेन्डर प्रक्रिया अघि बढाउने बताएका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलको जवाफ दिँदै उनले मन्त्रालयको वार्षिक बजेट करिब २ खर्ब ८६ अर्ब रुपैयाँ भए पनि बहुवर्षीय ठेक्का प्रणालीमार्फत ठूलो परिमाणमा टेन्डर खुलाउने योजना रहेको जानकारी दिए।

उनका अनुसार आगामी तीन वर्षका लागि एकैपटक ठेक्का (टेन्डर) लगाउने तयारी गरिएको छ, जसले परियोजना कार्यान्वयनलाई तीव्र बनाउने लक्ष्य राखिएको छ। मन्त्री लम्सालले टेन्डर प्रक्रिया चालु वर्षकै दररेटका आधारमा हुने र मूल्य वृद्धिका आधारमा स्वतः समायोजन हुने व्यवस्था मिलाइने बताए।

उनले प्रारम्भिक ६ महिना टेन्डर प्रक्रियामै समय जाने भएकाले वार्षिक बजेट कम देखिए पनि दीर्घकालीन ठेक्का प्रणालीले परियोजना कार्यान्वयन छिटो हुने दाबी गरे। उनका अनुसार तीन वर्ष लाग्ने ठेक्का प्रक्रिया एकैपटक अघि बढाउँदा कार्यान्वयन अवधि करिब २०–२२ महिनाबाट घटेर ६–७ महिनामा झर्ने अपेक्षा गरिएको छ, जसले पूर्वाधार निर्माणमा गति दिने सरकारको लक्ष्य रहेको छ।