विपदजन्य घटनाबाट बैशाखयता २८५ जनाको मृत्यु


काठमाडौ। यस वर्षको बैशाखयता देशभर विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस्तै २७ जना हाल पनि बेपत्ता छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आइतबार मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएका छन्। तीमध्ये इलाममा मात्रै ३७ जनाको पहिरोमा परेर मृत्यु भएको छ। पछिल्लो मौसमी प्रणालीका कारण ५० जिल्लामा विपद्को प्रभाव परेको उनले जानकारी दिइन्।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाखयता सबैभन्दा बढी सर्पदंशबाट ८६ जनाको मृत्यु भएको छ। पहिरोका कारण ४६ जना, चट्याङबाट ४५ जना, बाढीबाट ३० जना, भारी वर्षाबाट ६ जना, आगलागीबाट २३ जना, हावाहुरीबाट ८ जना, जनावरको आक्रमणबाट २२ जना र लेक लागेर १९ जनाको ज्यान गएको छ।
यस अवधिमा बाढीबाट २३ जना, पहिरोबाट ३ जना र जनावरको आक्रमणबाट १ जना बेपत्ता भएको विवरण छ।
हालसम्म देशभर ४ हजार ६५ वटा विपद्जन्य घटना दर्ता भएका छन्। ती घटनामा परेर १ हजार ७२ जना घाइते भएका छन् भने ७ हजार २११ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।