काठमाडौं महानगरको आगामी वर्षका लागि २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्तुत

User Image Prime TV News १० घण्टा अगाडि
Image of काठमाडौं महानगरको आगामी वर्षका लागि २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाडौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल ले आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।

जारी नगर सभामा उनले कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेश गर्दै सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार पर्ने तथा ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने जानकारी दिइन्।

गत आर्थिक वर्ष २०८२/८३ मा महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो। कार्यवाहक मेयर डंगोलका अनुसार आगामी वर्षका लागि महानगरको आन्तरिक आय तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।

त्यसैगरी नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान, समानीकरण अनुदान तथा राजस्व बाँडफाँडबाट ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट १ करोड रुपैयाँ स्रोत जुट्ने अनुमान गरिएको छ।

क्षेत्रगत बजेट विनियोजनतर्फ आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ छुट्याइएको छ। सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ अर्थात् ९.६ प्रतिशत बजेट प्रस्ताव गरिएको छ।

पूर्वाधार विकास क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ। यस क्षेत्रमा १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत विनियोजन गरिएको छ। त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ अर्थात् ८.५ प्रतिशत बजेट प्रस्ताव गरिएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ अर्थात् १८.८ प्रतिशत बजेट छुट्याइएको छ।

महानगरले आगामी वर्ष पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार तथा प्रशासनिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको जनाएको छ।