राहदानी खरिद प्रकरणमा अख्तियारले आरजु देउवालाई बयानका लागि बोलायो, पत्र खण्डहर देउवानिवासमा टाँसियो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।
आयोगले बूढानीलकण्ठस्थित देउवाको निवासमा तीन दिनभित्र उपस्थित हुनुपर्ने सूचना टाँस गरेको जनाएको छ। आयोगको पत्रअनुसार तोकिएको अवधिभित्र उपस्थित भएर आवश्यक बयान दिन भनिएको छ।
अख्तियारले राहदानी खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अनुसन्धान गरिरहेको छ। यसअघि सोही प्रकरणमा राहदानी विभागका केही अधिकारी तथा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको थियो।
सूचना टाँस गरिएको देउवा निवास २०८२ भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको थियो। हाल उक्त भवन भत्काउने तथा पुनर्निर्माणको तयारीको काम भइरहेको बताइएको छ।
राहदानी खरिद प्रकरणमा अख्तियारको अनुसन्धान जारी रहेकाले आयोगले आवश्यक ठानेका व्यक्ति तथा अधिकारीहरूसँग बयान लिने क्रमलाई निरन्तरता दिएको छ। हालसम्म आयोगले यस विषयमा अन्तिम निष्कर्ष सार्वजनिक गरेको छैन।







