नेपालका केही क्षेत्रमा वर्षा, केही ठाउँमा तातो लहरको सम्भावना
Prime TV News ४ घण्टा अगाडि काठमाडौ । हाल नेपालमा उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा मिश्रित मौसमको अवस्था देखिएको छ।
हाल कोशी प्रदेशमा तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान छ। लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा पनि बदली रहनेछ भने मधेसका केही भागमा आंशिक बदली रहने सम्भावना छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। साथै कोशी प्रदेशको तराईका केही स्थान र मधेस प्रदेश का एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको अवस्था कायम रहने सम्भावना रहेको छ। बागमती र गण्डकीका तराई क्षेत्रमा पनि दिनको समयमा बढी गर्मी महसुस हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
मौसमविद्हरूले वर्षा हुने क्षेत्रमा सतर्क रहन र तातो लहर प्रभावित क्षेत्रमा अनावश्यक रूपमा लामो समय घाममा नबस्न सुझाव दिएका छन्।







