प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक र अध्यादेशमाथि छलफल हुने

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक र अध्यादेशमाथि छलफल हुने

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थतन्त्र, सार्वजनिक खरिद, सहकारी र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक तथा अध्यादेशमाथि छलफल र निर्णय प्रक्रिया अघि बढाइने भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यी प्रस्ताव आगामी आर्थिक वर्षको राजस्व र सरकारी वित्त व्यवस्थापनसँग जोडिएका मानिएका छन्।

त्यस्तै, सांसद खडकबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाह को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले उक्त अध्यादेश स्वीकृतिको प्रस्ताव राख्ने कार्यसूची छ।

यसैगरी सांसद नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ अस्वीकार गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि अर्थमन्त्री वाग्लेले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सदनमा राख्नेछन्।

सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा सांसद आरेन राईले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अध्यादेश स्वीकृतिको प्रस्ताव राख्नेछिन्।

त्यसैगरी सांसद कृपाराम राना ले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजको बैठकलाई सरकारका आर्थिक तथा प्रशासनिक प्राथमिकतासँग जोडिएको महत्त्वपूर्ण संसदीय बैठकका रूपमा हेरिएको छ।