इरानको चेतावनी– लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गराउने जिम्मा अमेरिकाको
Prime TV News २ महिना अगाडि 
काठमाडौ । इरानले लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गराउने जिम्मेवारी अमेरिकाको भएको बताएको छ।
हालै भएको समझदारी वा युद्धविराम उल्लङ्घन भए त्यसको जिम्मेवारी वासिङ्टनले लिनुपर्ने भन्दै तेहरानले स्पष्ट सन्देश दिएको छ।
इरानी विदेशमन्त्रीले पाकिस्तानी विदेशमन्त्री सँगको टेलिफोन वार्ताका क्रममा युद्ध अन्त्यको सहमति लेबनानमा समेत लागू हुने बताएका छन्। इरानले लेबनान र इरानको अवस्थालाई आपसमा जोडिएको विषयका रूपमा हेरेको जनाएको छ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान दबाबका कारण नभई आफ्नै निर्णयमा वार्ताको टेबुलमा आएको दाबी गरेका छन्। उनले आगामी ६० दिनभित्र थप वार्तामार्फत दीर्घकालीन समझदारी खोजिने संकेत दिएका छन्।
यसबीच इजराइल र हेजबुल्लाह बीच युद्धविराम लागू गर्ने प्रयास जारी रहे पनि दक्षिणी लेबनानमा तनाव पूर्ण रूपमा अन्त्य भएको छैन। केही क्षेत्रमा हमलाका घटना र आरोप–प्रत्यारोप जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका–इरान औपचारिक वार्ता केही समयका लागि स्थगित भए पनि कूटनीतिक पहल जारी रहेको बताइएको छ। अमेरिकी विशेष दूत र इरानी प्रतिनिधिहरूबीच थप छलफलको तयारी भइरहेको अन्तर्राष्ट्रिय स्रोतहरूले उल्लेख गरेका छन् ।







